ताप्लेजुङ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।
गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका हुन् । उनले एकलौटी निर्णय खारेज गरी पार्टी एकताका लागि अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
उनले भने, ‘यो दुर्भाग्यपूर्ण निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको छ । फेरि एकपटक एक पक्षीय यी निर्णयहरु खारेज गर्नुपर्छ र सहमतिमा फर्कनुपर्छ ।’ भट्टराईले प्रतिनिधिसभा दोस्रो पटकपनि पुनःस्थापना हुने दाबी गरे । उनले भने,’हामीलाई पहिलो पटक जनताले भोट दिएर सांसद बनाए, दोस्रो पटक अदालतले सांसद बनायो र अब तेस्रो पटकपनि अदालतले बनाउँदै छ ।’
विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनःस्थापना हुने भट्टराईले दाबी गरे । उनले पाँच वर्षको एउटा प्रतिनिधिसभा दुई–दुई पटक पुनःस्थापना भएर अर्कोपनि वर्ल्ड रेकर्ड हुने सम्भावना रहेको बताए । उनले सर्वोच्चको अबको फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहँदैमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने बताए ।

प्रतिक्रिया