काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेको केपी ओली पक्षले महाधिवेशन आयोजक कमिटी खारेज गर्ने निर्णय कुनै नौलो नभएको बताएकी छन् । बुधबार राति सामाजिक संजालमार्फत झाँक्रीले आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘पुरानै Product मा नयाँ Wrapper मात्र लगाएको हो। Customer झुक्किनु पर्ने नै छैन। भ्रममा नपरौँ, आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।’

बुधबार बिहान बसेको ओली पक्षको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले स्थायी कमिटीमा पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको थियो ।
आयोजक कमिटीको निर्णयसँगै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ । गत चैतमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको अनुपस्थितिमा आयोजक कमिटी गठन गरेका थिए ।

प्रतिक्रिया