कोरोना नभएको भए ओलीको कदमविरुद्ध पुष ५ को भन्दा दोब्बर जनता सडकमा आउँथेः माधव नेपाल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरु तथा दलका नेताहरूसँग शुक्रबार समसामयिक विषयमा छलफल गरेका छन् । संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल र भर्चुअल माध्यमबाट झलनाथ खनाल सहभागी भएका थिए । छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहोरा र नेमकिपाका प्रेम सुवालको उपस्थिति रहेको थियो ।

छलफलको सुरुमा सभामुख सापकोटाले बैठकको उद्देश्यबारे स्पष्ट पार्दै देशको वर्तमान राजनैतिक संकट, कोभिड महामारी र प्रतिनिधिसभाको विघटनका सवालमा सभामुखको भूमिका र संसदीय सर्वोच्चता कायम राख्न तथा राज्यका तीन अंगवीच शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप समन्वय गरी जीवन्त बनाई राख्न के के कदम चाल्नुपर्छ भन्ने सवालमा छलफल केन्द्रित हुने बताएका थिए ।

अकारण प्रतिनिधिसभाको पटक–पटक विघटन हुनु र यसको कार्यक्षेत्रमाथि अतिक्रमण हुनु दुःख भएको भन्दै उनले जनताको सार्वभौम अधिकार, संविधान, लोकतन्त्र र प्रतिनिधिसभाको रक्षाका लागि दलहरुको धारणा बुझ्न छलफल आयोजना गरिएको बताएका थिए । एउटै अध्यादेश तीन पटकसम्म ल्याइएको उदाहरण प्रस्तुत गर्दै सभामुखले अध्यादेशबाटै देश चलाउने खालको प्रवृति देखापरेको भनाइ राखे। जेठ ८ गते पछि पूर्वसभामूखहरू तथा संविधानविद् र कानुनविद्हरूसँग छलफल गरेको जानकारी गराउँदै सभामुख सापकोटाले छलफलले रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

छलफलमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्रीले एक पछि अर्को गर्दै संविधान र कानुनको धज्जी उडाएको बताए ।

उनले राष्ट्रपतिले हुँदै नभएको प्रावधान अनुसार प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो । देउवाले अहिले कोभिडका कारण सडकमा आन्दोलन गर्ने परिस्थिति नभएको तर सामान्य अवस्था हुँदा काठमाडौंलगायतका सडक खाली नहुने अवस्था आउने बताए ।

अदालतबाट न्याय पाइने र संविधानको रक्षा हुने अपेक्षा राखी १४६ जना सांसद उपस्थित भएर रिट निवेदन दिएको र सबै दलहरू एकजुट भएर यो संकटको घडीमा प्रतिवाद गर्नुपर्ने उनको धारणा थियो । देउवाले सर्वोच्च अदालत भन्दामाथि ठाउँ नभएको बताउँदै अदालतले न्याय दिने विश्वास व्यक्त गरे ।

छलफलमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान प्रधानमन्त्रीबाट संविधान, लोकतन्त्र र राष्ट्रको हुर्मत लिने काम भएको बताए । उनले लामो संघर्ष, धेरै मेहनत र बलिदानबाट प्राप्त उपलब्धि जोगाउन सबै दल, बुद्धिजीवी तथा संचारकर्मी मिलेर प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

प्रचण्डले वर्तमान प्रधानमन्त्रीले रहस्यमय तरिकाले राति २ बजे संसद भंग गराई विधि र लोकतन्त्रको उपहास गरेको, एकपछि अर्को अध्यादेश जारी गरेको, चुरे दोहनको निर्णय गरेकोले हाल चुनौतीपूर्ण परिस्थिति सृजना भएको बताए । उनले कोभिडबाट जीवन रक्षाका लागि मिलेर काम गर्न र संविधान र लोकतन्त्रको रक्षा गर्न एकतावद्ध हुनुपर्ने धारणा राखे ।

वर्तमान सरकारले बजेटमा राष्ट्रिय हितलाई दाउमा राखेको बताए । सरकारको निरङ्कुश प्रवृतिमाथि विजय प्राप्त गर्न जनचेतना र अन्तर्राष्ट्रिय सहयोग जरुरी रहेको बताए । प्रचण्डले अदालतले जनभावना, मनोविज्ञान, राष्ट्रको हितलाई हेरेर फेरि पनि सरकारको असंवैधानिक कदमलाई सच्याउने भूमिका खेल्ने भरोसा लिएको धारणा राखे ।

भर्चुअल प्रविधिबाट धारणा राख्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले दलहरुसँग छलफल गर्ने सभामुखको पहलप्रति खुसी व्यक्त गरे । उनले वर्तमान प्रधानमन्त्रीले झन्डै दुइतिहाई बहुमतको सरकार र शालीन प्रतिपक्ष हुँदाहुँदै पनि पटक पटक संसद विघटन गरेको, १९ पटक मन्त्रिपरिषद पुनर्गठन गरी अस्थिरता निम्त्याएको, कोरोना शहरबाट गाउँ पसेर भयावह बनाउँदा पनि सूचनासम्म प्राप्त नगरेको स्थिति हेर्दा ‘विनाशकाले विपरित बुद्धि’ भनेजस्तो भएको बताए । यो अवस्थामा प्रतिपक्ष एक हुनुपर्ने धारणा राख्दै खनालले यो प्रतिकुल परिस्थितिमा नयाँ ढंगले अघि बढ्न छलफल जारी राखिनुपर्ने बताए ।

त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बलिदानीपूर्ण संघर्ष र प्राप्त लोकतन्त्र तथा संविधानको रक्षार्थ नेताहरू जिउँदै रहेकोले कसैको लहडमा संविधान मिच्न नदिइने बताए । संसद पुनस्र्थापनाको आवाज जनताले थाहापाउने गरी विभिन्न उपायबाट बुलन्द बनाउन उनले आग्रह गरे । कोरोना नभएको भए पुष ५ को भन्दा दोब्बर जनता सडकमा हुने उनको भनाई थियो ।

आफ्नो कार्यकालमा चुरे संरक्षण योजना ल्याएको भन्दै उनले दलाल पूँजीपतिहरूलाई फाइदा हुनेगरी ढुंगा गिट्टी निकासीले तराइ मधेस मरूभूमि हुने स्थिति पैदा गरेको बताए । वर्तमान सरकारले कुटनीतिमा पनि गलत थिति बसालेको र देश भ्रष्टाचारले आक्रान्त भनाएको भन्दै न्यायालयले संविधानको रक्षा गर्ने कुरामा आफु आशावादी रहेको बताए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले चारैजना पूर्वप्रधानमन्त्रीहरूले राखेको विचारमा सहमति जनाउँदै ७० बर्ष लडेर ल्याएको लोकतन्त्र र संविधान खतरामा रहेको टिप्पणी गरे । देशको भू–राजनीतिक अवस्था, कोभिड प्रकोप, व्याप्त भ्रष्टाचार, गरीवी र पराधिनताले सामाजिक न्याय कल्पनामा मात्र रहेको उनको भनाई थियो ।

उनले संविधानको रक्षा र स्वाधिनता बचाउन पाँच दलीय सहकार्य थप मजबुत बनाउनुपर्ने, जनतामा सचेतना बढाउन सुसूचित गराउने, संसद पुनस्र्थापित हुँदा र नभए के गर्ने भन्नेबारे पनि बैकल्पिक उपायको खोजि गर्नुपर्ने धारणा राखे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको चलखेल भएमा कसरी प्रतिवाद गर्ने जस्ता विषयमा छलफल जारी राख्नुपर्ने बताए ।

सभामुखको भूमिकाको सन्दर्भमा आफू संविधान बनाउँदा सवैधानिक समितिमा रहेको स्मरण गर्दै उनले यो संविधानले प्रतिनिधिसभा विघटन हुँदा पनि जनताको सार्वभौम सत्ता सभामुखमार्फत सुरक्षित राखेको बताए । निश्चित अवधिमा चुनाव भएन भने संसद जीवित मानेर क्रियाशील गराउन सकिने सभामुखको अवशिष्ठ अधिकार रहेको र यसको लागि रणनीति तय गर्नुपर्ने उनको भनाई थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपाल कोरोना महामारीबाट आक्रान्त भएको मौका छोपेर वर्तमान सरकारले संसद र संविधानमा पटक पटक प्रहार गरेको बताए । उनले कार्यपालिकाले न्यायालयमा समेत अनुचित प्रभाव पर्ने चेष्टा गरेको अवस्थामा संघीय लोकतन्त्रात्मक गणतन्त्र बचाउन दलहरुबीच बलियो सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै राप्रपाका दिपक बोहोराले अघिल्लो पटक देखि नै राप्रपाले संसद विघटनको विरोध गरेको स्मरण गर्दै हाल मुद्धा अदालतमा विचाराधीन रहेकोले थप टिप्पणी गर्नु उचित नुहने धारणा राखे ।

नेमकिपाका प्रेम सुवालले व्यवस्थाको अस्थिरताको सन्दर्भमा दलहरू गम्भीर हुनुपर्ने बताए । उनले चुरे दोहन सम्बन्धमा बिस्तृत अध्ययन हुनुपर्ने, बिगतको चारकोसे झाडीको विनाशबारे पनि समीक्षा गर्न आग्रह गरे । जो सत्तामा गएपनि देश र जनताको हितमा काम गर्नुपर्ने उनको सुझाव थियो ।

सहभागीहरुको धारणापछि सभामुख सापकोटाले सहभागी सबैलाई सुझावका लागि धन्यवाद दिए । उनले छलफलमा जनताको भावना अभिव्यक्त भएको भन्दै हालको परिस्थिति उत्पन्न हुनुको कारणबारे पार्टीहरूले अनुसन्धान गर्ने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले विगतमा कोरोना माहामारीको अवस्थामा कसरी संसद चलाई जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा चिकित्सक र सम्बन्धीत संस्थाहरुसँग छालफल गरेको स्मरण गर्दै पटक पटक अकारण संसद विघटन हुँदा आफू मर्माहत भएको बताए ।

उनले प्रतिकुलतालाई अनुकुल बनाउन चरणबद्ध छलफल अघि बढाएको र स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिका निभाउन व्यवस्थापिका प्रमुखको हिसाबले हरसम्भव प्रयास गरिरहेको बताए । सत्य सापेक्ष हुने र आफू सधैं सत्यको पक्षमा रहेको भन्दै सभामुख सापकोटाले देशभक्तिपूर्ण भावनाले समग्र मानवजातिको अस्तित्व जोगाउन भूमिका खेल्ने र यस्तै छलफल र बहसबाट न्यायालयलाई पनि रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आफूले संधै संविधान र नियम कानुनको अधिनमा रहेर काम गर्ने भन्दै उनले कार्यपालिकाको ज्यादतीलाई दर्शन र इतिहासका विद्यार्थीले कसरी मुल्यांकन भन्ने चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत