काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदनबाट बहस सुरु भएको हो ।
इजलासले शेरबहादुर देउवासहित १ सय ४६ सांसदको रिट निवेदनका लागि ३० मिनेट समय दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ बुधबारका लागि सारिएको थियो । इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको थिएन ।
संवैधानिक इजलासका एक न्यायाधीश ईश्वर प्रसाद खतिवडाले संसद विघटन सम्बन्धी मुद्दा यही बेन्चले हेर्ने भन्दै बेन्च गठनको कुरामा अबदेखि बहस नगर्न आग्रह गरेका छन् । उनले आफूहरुलाई आएको जिम्मेवारीबाट पछि नहट्ने पनि बताएका छन् । उनले अबदेखि बेन्च गठनको कुरामा बहसमा नउठाउन आग्रह गरे ।
यसअघि आइतबार सरकारी पक्षका कानुन व्यवसायी र महान्यायधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासमा बस्न नहुने भन्दै प्रश्न उठाएका थिए । अधिवक्ता राजाराम गौतमलगायतले ११ जना न्यायाधीश सम्मिलित इजलास गठन गर्न नहुने भन्दै निवेदन दिएका थिए ।
त्यस विषयमा भने बुधबार कुनै बहस भएन । कांग्रेस सभापति देउवासहित १४६ सांसदको रिट निवेदनमा मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्न माग गरिएको छ ।

प्रतिक्रिया