काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापना हुने बताएका हुन् ।
उनले भने, ‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिए, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुर्नर्थापना हुन्छ ।’ पहिलो चोटी गरिएको संसद विघटनको बेला कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले अहिले कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा आएको बताए ।
उनले भने, कांग्रेस, जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा हुनुहुन्छ । माधवजीहरु पनि सँगै छौँ, अडिराख्नुभएको छ । जनमोर्चा पनि साथमा छ ।’ केही दिनभित्रै अदालतबाट संसद पुर्नस्थापना हुने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे । उनले भने, ‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’
संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए । त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध विदेशी शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाई थियो ।
संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजानका लागि पनि प्रचण्डले निर्देशन दिएका छन् । त्यस्तै अहिलेको जारी लडाईमा आफूहरुको जित हुने भन्दै प्रचण्डले निराशा हुनुपर्ने कारण केही नभएको बताए ।

प्रतिक्रिया