काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाउनु राम्रो संकेत नभएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्रीले पुनः उठाएछन् । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू । संविधानको धारा ३ ले राष्ट्रको परिभाष यसरी गरेको छ “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’
पदबहालीपछि नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको बहस चर्काउने बताएका थिए ।

प्रतिक्रिया