नेपालमा सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोगको अनुमति
काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले सिनोभ्याकको खोपलाई अनुमति दिएको हो ।
यो खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिन्छ । गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक भी र भारतीय खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।