काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै विनाश भएको थियो ।
राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
सत्ता बाहिर बस्दा हत्याकाण्डको रहस्य पत्ता लगाउने बताउने गरेपनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन । जसका कारण दरबार हत्याकाण्ड रहस्यमै रहेको छ ।

प्रतिक्रिया