लुम्बिनीमा एमाले उम्मेदवारलाई हराउँदै कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित
दाङ । लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३६१२ मत पाए । पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो ।
लुम्बिनी प्रदेश सभामा एमालेबाट निर्वाचित भएका पाण्डेयले गत वैशाख १९ गते राजीनामा दिएका थिए । उनी २०७४ सालको निर्वाचनअघिमात्रै कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त भएको थियो । उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका थिए ।
यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापालाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए