प्रतिनिधि सभा विघटनविरूद्धका रिटको सुनुवाइ आजदेखि सुरु हुँदै, को-को पर्लान् संवैधानिक इजलासमा ?


काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।

प्रधानन्यायाधीशको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिटमाथि आजदेखि सुनुवाइ हुनेछ । विघटनविरुद्ध ३० वटा निवेदन दर्ता भएका छन् ।

रिट निवेदकले तत्कालिन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । आज बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् ।

संसद पुनः स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।