परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्छुः सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनताले दिएको अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफूले कुनै पनि कदम चाल्ने बताएका छन् ।
बिहीबार संसद भवन नयाँबानेश्वरमा कानुन व्यवसायीहरुसँग प्रतिनिधिसभा विघटनबारे परामर्शपछि सभामुख सापकोटाले जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई नभएको र आफू पनि सोहीअनुसार चल्ने बताएका हुन् ।
जनताले प्रतिनिधिसभा सदस्यलाई सार्वभौम अधिकार सुम्पिएको भन्दै उनले सो अधिकार आफूबाट अभिव्यक्त हुनुपर्ने बताए नेपाली जनताले दिएको सो अधिकार असाधारण परिस्थितिमा आफूले प्रयोग गर्ने उनको भनाई थियो ।
वर्तमान परिस्थितिको आफूले मसिनोसँग विश्लेषण गरिरहेको भन्दै सभामुखले भने, ‘असाधारण र धेरै गर्नका लागि दिन–दिनका, घण्टा–घण्टाका कुरालाई विचार, मनन गरेर ठोस स्थितिको ठोस विश्लेषण गर्दैछु । देश र जनताको अधिकतम हित बाहेक दायाँ–बायाँ जाने त कसैलाई पनि अधिकार हुँदैन । देश र जनताको हित गर्दा संविधान अनुसार संविधानको मर्म र भावनालाई ठीक ढंगले आत्मसाथ गरी काम गर्न तयार छु ।’
उनले राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रित भएर अभिव्यक्त हुने भएकाले आफूले राजनीतिक पार्टीहरुसँग छलफल थाल्नेपनि जानकारी दिए । आफूहरु प्रतिनिधिसभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेशबाट चलाउन खोजिएको प्रति असन्तुष्टि जनाए ।
अध्यादेशबाट चलाउन खोज्नु बेठिक भएको उनको भनाइ थियो । सभामुख सापकोटाले जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य नभएको बताए । उनले भने, ‘जनप्रतिनिधिमूलक संस्था यही हो । यसैले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तय गर्ने हो । यसलाई अवमूल्यन गर्ने कुरा किमार्थ स्वीकार्य हुँदैन । संविधानको पालना गर्ने, रक्षा गर्ने कुरा राष्ट्रपतिबाट सुरुवात हुनुपर्छ । त्यसपछि प्रधानमन्त्री, सभामुखबाट । जसरी गम्भीर हुनुपथ्र्यो त्यति गम्भीर हुन सकेनौं कि भन्ने भएको छ ।’ सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधिसभाको अधिकारको हनन भएको उनले बताए ।
यो पनि