लमजुङमा भूकम्पले एक दर्जन घरमा क्षति, चार जना घाइते



लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् ।

घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नम्बर ८ का २९ वर्षीया खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।

घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए ।

घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।

उमासहित उनकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइतेबाट जोगिएको उनले बताइन् । श्रृतीले भनिन्, “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ ।”

प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नम्बर ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ ।

त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ । जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिमसमेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु

  तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ ।

सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी गाडी भारतमा दुर्घटना, तीन घाइते

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न एकीकृत समाजवादीमा केन्द्रीय सदस्यलाई जिम्मेवारी

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र

उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि मतमा सुधार भएको राप्रपाको निष्कर्ष, कमजोरी अध्ययन गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनमा भएको कमजोरी अध्ययन