काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु सिंहदरबारस्थित संसद् सचिवालय पुगेका छन् । पार्टीमा विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको खबर सार्वजनिक भइरहेका बेला नेपाल पक्षका सांसदहरु सिंहदरबारमा जम्मा भएका हुन् ।
वरिष्ठ नेता नेपालसहित सांसदहरु जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणी चौधरी, निरादेवी जैरुलगायतका सांसद राजीनामा दिन संसद् सचिवालयमा पुगिसकेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई फेल गराउन नेपाल पक्षका सांसदले राजीनामा बुझाउन लागेका बताइएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन् । तर नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मत संख्या पुग्दैन । संसद्मा एमालेका १२१ सांसद छन् ।
विश्वासको मत पाउन १३६ मत चाहिन्छ । यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया