काठमाडौं । पुनर्निर्माण अन्तिम चरणमा पुगेको २२ तले धरहरामा बुधबार गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
गजुरसँगै २२ औँ तलामा शिवलिंग पनि प्रतिस्थापन गरिएको छ । पुरानै शिवलिंगलाई प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बुधबार बिहान ८ बजेको साइतमा विशेष पूजा गरेर प्रतिस्थापन गरेका हुन् ।
२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा छ वर्षपछि पुनर्निर्माण सकिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्दैछन् । सर्वसाधारणका लागि मंसिरपछि मात्र खुला गरिनेछ ।
करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो । विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी ललित त्रिपुरासुन्दरीको सम्झनामा बनाउन लगाएको धरहरा १९९० को भूकम्पमा ढलेको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलाको रहने गरी पुनर्निर्माण गराएका थिए ।


प्रतिक्रिया