सर्वोच्च अदालतद्वारा अख्तियारले गर्दै आएको ‘स्टिङ अपरेशन’ अवैध ठहर
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेशन’लाई अवैध ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित ५ जना न्यायाधीशको बुधबारको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो ।
अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए। उक्त रिटमा २०७४ पुस ७ गते पहिलो सुनुवाई भएको थियो ।
संवैधानिक इजलासले विपक्षीसँग स्टिङ अपरेशनका बारेमा कारण माग गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो । अख्तियारले कार्यविधि बनाएर घुस लिने व्यक्तिमाथि पछिल्लो समयमा आफैं पैसा दिएर स्टिङ अपरेशन चलाउँदै आएको थियो। सोही अपरेशनका आधारमा उसले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर गर्दै आएको थियो ।