काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति) बैठक तत्काल रोक्न आग्रह गरेका छन् ।
आइतबार पार्टीलाई एकतावद्ध बनाउन विशेष ध्यानाकर्षण पत्र जारी गरी बोहोराले यस्तो आग्रह गरेका हुन् । उनले पार्टी एकतालाई जोगाउनका लागि कसैले पनि मेरो गोरुको बाह्रै टक्काजस्तो ढिपी नगर्न आग्रह गरेका छन् ।
उनले पार्टी एकतालाई जोगाउन पार्टीको तर्फबाट भएको एकतर्फी निर्णय फिर्ता लिन आग्रहसमेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘२०७८ वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदै छ । यसलाई तत्काल रोक्नुपर्दछ,’ बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपाय खोज्नुपर्ने बेला भएको छ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ ।’ उनले पार्टीलाई विधि विपरित कमिटीमा थप गर्ने र हटाउने गरी भएका सबै निर्णय सच्याउन आग्रहसमेत गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ’मेरो आग्रह छ मेरो गोरुको बाह्रै टक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ। पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्ष मात्र सामेल भएर गरेको २०७७ फाल्गुण २८ गतेको एकतर्फी निर्णयलाई विना विलम्ब फिर्ता गरौं।’
पार्टीलाई सहमतिको बाटोमा अघि बढाउन नवौं राष्ट्रिय महाधिवेशनको नीति, कार्यदिशा, विधान एवम् नियमावली अनुसार बढ्नुपर्ने समेत बताएका छन् ।
’विधानको व्यवस्थाबमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठकहरू तत्काल बोलाऔँ । पार्टीलाई विग्रह र विभाजनको बाटोमा जानबाट बचाऔँ, पार्टी एकताको संरक्षण गरौँ। मुलुकलाई फेरि स्थायित्व प्रदान गर्ने प्रयास गरौँ । उल्लेखित विषयमा म पार्टीका सबै पक्षका जिम्मेवार कमरेडहरु र विशेषगरी पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराउँछु’ विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया