चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं । पदमुक्त भएका चार जना मन्त्रीले पुनःनियुक्ति लिएसँगै पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उनीहरूले पहिलेकै मन्त्रालयमा पुनः नियुक्ति लिएका हुन् ।

जसअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन् । नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको थियो ।

बिहीबार उनीहरु पार्टीबाट निष्कासित भएको सूचना संसदमा सभामुख अग्नी सापकोटाले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए भने मन्त्री पदबाट पनि पदमुक्त भएका थिए । पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् । अब उनीहरु ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् ।