तीन दल बैठकः जसपाले पार्टीमा छलफल गरी निर्णय दिने, देउवाको प्रस्तावमा माओवादीको समर्थन


काठमाडौं । सत्ता समीकरणका विषयमा भएको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठकमा कांग्रेस सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि दुई पार्टीलाई प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा माओवादी केन्द्रले सहमति जनाएपछि जसपाले भने पार्टीभित्र छलफलका लागि केही दिनको समय माग गरेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको जानकारी दिएका छन् । बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने जानकारी गराएको थियो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले देउवाले राखेको प्रस्तावमा आफूहरुले छलफल नगरेको बताए । उनले काँग्रेसले आफ्नो अग्रसरतामा सरकार बनाउने भनेर प्रस्ताव गरेको र यसबारेमा पार्टीमा अब चाँडै छलफल गरि निर्णय गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सभापतिले प्रस्ताव गर्नुभएको र जसपाका नेताहरुले पार्टीमा छलफल गरी निर्णय गर्न माग गर्नुभएको जानकारी दिए ।

प्रवक्ता शर्माले जसपाले निर्णय गरेपछि सत्ता समीकरणबारे प्रक्रिया सुरू हुने शर्माले जानकारी दिए । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी थिए ।

त्यस्तै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतका नेता बैठकमा सहभागी थिए । त्यस्तै कांग्रेसको तर्फबाट बैठकमा सभापति देउवासहित वरिष्ठ रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतका नेता थिए ।