काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गरेका हुन् ।
उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए । प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए ।
कोभिड–१९ विरुद्धको खोपले पनि शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताए । उनले भने, ‘अलि तातोतातो पानी लिदै नस लिदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट।’ आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरागर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए ।
कोभिडविरुद्धको खोप नआए प्रधानमन्त्रीलाई गाली आउने, संक्रमण बढ्यो भने प्रधानमन्त्रीलाई गाली आउने भएकाले आफूले कोरोना धपाउन यी कुरा गरेको बताए ।

प्रतिक्रिया