कुनैपनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र पार्दिन, नआत्तिनुस्ः वरिष्ठ नेता नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिएपनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । उनले समस्या आए समाधान पनि निकाल्ने बताए ।

आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने उनले बताए । एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्याई छाडने प्रतिवद्धता उनले जनाए ।

उनले भने, ‘भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरुलाई परेको होला । नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि उनले जानकारी दिए । आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको उनले बताए ।

आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको उनले बताए । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको नेपालले बताए ।

नेता नेपालले ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक रुप देखाएको पनि बताए । आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् की भन्ने भ्रम केपी ओलीमा रहेको उनले बताए । नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिला देखि नै सताउँदै आएको बताए । २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेशन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिंडेको स्पष्ट देखिएको उनले बताए । केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे ।