पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग
काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमालेको माधवकुमार नेपाल निकटको अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताए ।
मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने उनले बताए । ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको बताए ।
निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउने वितिक्कै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारे । यद्यपी विद्यार्थीहरुको माग जायज भएकोले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताए । उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने बताए ।