म अब धेरै दिन पर्खिन्न, सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता हुन्छः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने संकेत गरेका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले समर्थन फिर्ता नलिन आफूलाई केही दवाव आएको भएपनि अब त्यसलाई थेग्न नसक्ने बताएका हुन् । उनले केपी ओलीको संसद विघटनको कदमको विरोध गर्ने राजनीतिक दलहरुले हतपत्त समर्थन नलिनु भनेकाले दारा किटेर केही दिन रोकेको तर अब थेग्न नसक्ने बताए ।

उनले भने, ‘ओलीको कदम असंवैधानिक भनेकाहरुले समर्थन हतपत्त फिर्ता नलि भन्ने दवाव छ । नैतिक र राजनीतिक दवावले म अब धेरै दिन पर्खिन्न । राजनीतिक सके जता जाओस् । मेरो कोशिस कमसेकम प्रमुख राजनीतिक दलहरु जसले ओलीको कदम असंवैधानिक हो भन्नेहरु एक होओं भनेर मैले दारा किटेर एक दुई दिन रोकेको हो । अब रोकिन्न।’

उनले मुलुकको राजनीति एम्बुसमा पर्न लागेको बताए । संसद विघटन शान्ति सम्झौतालाई बदल्ने परिवर्तनलाई बदल्ने नियतले आएको भन्दै उनले जनताले । सेटिङलाई जनताले भत्काइदिएका बताए ।

उनले संसद पुनःस्थापनापछि एउटा व्याटल जितेको महसुस गरेको र दोस्रो चरणको कार्यक्रमकाबारेमा कार्यक्रम नबनाउनु आफूहरुको कमजोरी भएको स्वीकार गरे ।

उनले भने, ‘संसद पुनःस्थापनापछि प्रधानमन्त्रीले राजीनामा दिएर राजनीति स्वतः अघि बढ्छ भन्ने लागेको थियो । ठूलो लडाइँ जित्यौ भनेर रिल्याक्स गरे जस्तो गर्यौं । दोस्रो चरणमा जान योजना बनाएनौं ।यो डिजाइनमा छ भनेर तदारुकता देखाएनौं गल्ती गर्यौं ।’

उनले सर्वोच्च अदालतको फैसलाले दिउँसै रातपार्ने काम गरेको भन्दै आफूहरु त्यसकाविरुद्ध पुनरावलोकनमा जाने बताए । उनले प्रचण्डको तेजोबोध गर्ने काम भइरहेको बताए । उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफू पनि पीडित भएकाले पीडित पीडित मिल्नुको विकल्प नभएको बताए । उनले आफू अर्को शान्तिपूर्ण जनविद्रोहका लागि तयार रहेको बताए । उनले नागरिक आन्दोलनलाई आफने आन्दोलनमा आउन कि आफूहरुलाई आन्दोलनमा बोलाउन आग्रह गरे ।