कांग्रेस नेता नविन्द्रराज जोशीको निधन


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मस्तिष्कघात भई उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो ।

जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जानकारी दिएको जोशीका स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिए । जोशीलाई फागुन १३ गते राति स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्याएका थिए ।

परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै चिकित्सकले तत्कालै नर्भिक पठाएका थिए । नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उनको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी जोशीको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताएका छन् । उनले जोशीको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी महामन्त्री डा.शशांक कोइरालाले पनि जोशीको निधनको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले शोकको यस घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।