विधान विपरीत निर्णय गरेर ओलीले पार्टी फुटाउने षड्यन्त्र गरेः भीम रावल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको विधान उल्लंघन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका छन् ।

अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै रावलले पटक पटक पार्टीका उल्लंघन गर्ने अध्यक्षले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका हुन् ।

उनले पार्टी अध्यक्ष ओलीलाई नै विधान उल्लंघन गरेकोमा स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले विधान संशोधन राष्ट्रिय महाधिवेशनले मात्र गर्न सक्ने भएपनि उनले आफ्नो गुट राखेर संशोधन गरेको बताए ।

उनले भने, ‘विधान विपरीत धारा उल्लंघन गरेर केन्द्रीय कमिटीमा थपेको छ । नेकपा एमालेको सदस्य नभएको व्यक्तिलाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गर्न पाइन्छ ? यसरी विधान विपरीत गर्ने व्यक्तिले स्पष्टीकरण सोध्दा लाज लाग्नुपर्ने होइन ? केपी ओलीले पठाएको स्पष्टीकरण पार्टीको होइन । त्यो अवैध बैठकले यस्तो गर्न सक्दैन ।’ रावलले फागुन २८ को यो विधानको धारा १४ विपरित आफ्ना गुटकालाई बोलाएर आफूहरुलाई जानकारी नदिई पार्टी फुटाउने ओलीले षड्यन्त्र गरेका बताए ।