काठमाडौं । रंगहरुको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आज बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो ।
बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ । फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । वसन्तपुरमा चीर ठड्याउनुअघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ ।
बाजागाजासहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ । करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ। रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागु पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु वा होली पर्व सकिने मान्यता छ ।

प्रतिक्रिया