काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण नगरेको र नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएपछि ओलीसँग मिलेको आरोप खेपेका गौतमले ओलीको कार्यशैली गलत भएको भन्दै उनको अगाडि आत्मसमर्पण नगरेको र अब पनि नगर्ने बताएका हुन् ।
गौतमको भनाइ उदृत गर्दै उनका सहयोगी विश्वमणि सुवेदीले सामाजिक संजालमा लेखेका छन्, ‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन । तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।’
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौततमले फागुन २८ गतेको बालुवाटार बैठक केन्द्रीय कमिटी नभएको समेत बताएका छन् । उनले उक्त बैठक केन्द्रीय कमिटी नभएकाले निर्णय फिर्ता हुनुपर्ने उनको भनाइ छ ।
‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ’, उनले भनेका छन् । सँगै नेता गौतमले पार्टीका नेतालाई कुनै कारबाही हुनु नहुने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।’ नेता गौतमले आफू पार्टी एकता अभियानमा रहेको र उद्देश्य पूरा नहुँदासम्म यो अभियानलाई जारी राख्नेसमेत प्रष्ट पारेका छन् ।

प्रतिक्रिया