शनिबारको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने नेपाल पक्षको निर्णय


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले शनिबारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले शनिबारका लागि बोलाएको संसदीय र केन्द्रीय कमिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

नेपाल पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्री निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष डा. भीम रावलले जानकारी दिए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने जानकारी दिए ।

उनले भने ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने निर्णय भएको छ।’