पिसिआरमा बढी रकम असुल्ने अस्पतालका प्रतिनिधि धरौटीमा रिहा



चितवन । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख धरौटी माग गरिएको थियो । ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेका उनले जानकारी दिए ।

शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क दुई हजार तोकेकामा ती अस्पतालले तीन हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो । ती दुई अस्पतालविरुद्ध यही चैत ४ गते मुद्दा पेश गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारवाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको छ । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।

यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजसमेतलाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।