नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भूमिका खेल्नुपर्ने उनले बताए । एमाले भित्रै अहिले समस्या देखियो भन्दै गौतमले मुख्य व्यक्तिहरुलाई बोलाएर अनुरोध गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले भने, ‘अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् । र हामी फेरि एकताबद्ध भएर जान्छौँ । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा(एमाले) को हो । त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पुरा गर्न सक्छौँ । त्यसो भएर तपाईंले यो आव्हान गर्नुस् । शुरु गर्नुस् भनेर मैले अनुरोध गरें ।’
गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडी बढेको गौतमको भनाई छ ।

प्रतिक्रिया