राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता गर्न प्रधानमन्त्रीलाई नेपाल पक्षको निम्तो
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारवाही गर्ने धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।
बुधबारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीलाई शक्तिको दम्भको भाषा नबोल्न चेतावनी दिएका हुन् ।
भट्टराईले यो एमाले कार्यकर्ताको भेला भएकाले बरु प्रधानमन्त्रीलाई कार्यक्रमको प्रमुख अतिथीको रुपमा आउन आग्रह गरे । ‘प्रधानमन्त्री बुद्धको अनुयायी हुनुहुन्छ । बुद्धको अनुयायीलाई धम्कीको भाषा सुहाउँदैन । तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुस् । यो भेलाको प्रमुख आतिथ्यता गर्नुस्, देशभरबाट आउने सबै तपाईंकै कार्यकर्ता हुन् ।’
कारवाहीले पार्टी अगाडि नबढ्ने भन्दै भट्टराईले आफूहरु सबै एकपछि अर्को कारवाही भोग्न लामबद्ध रहेको बताए ।