चैत ६ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए ।
सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव,लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ ।
यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराएका थिए । बैठकले संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।