माओवादीको बैठक केही दिनका लागि स्थगित, सरकार गठनमा ध्यान केन्द्रित गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सोमबार २० जना नेताले बोलेका छन् ।
अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केही दिनक लागि स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उनले बताए ।
पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।