प्रचण्डसँगको भेटपछि उपेन्द्र यादवले भने-केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन
काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्तासमीकरणका विषयमा छलफल भएको छ । सत्तासमीकरणका विषयमा छलफल गर्न जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई शनिबार बिहान माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा गएका थिए ।
सत्ता समीकरणको विषयमा भएको छलफल सकारात्मक रुपमा अघि बढेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । जसपाले उठाएका मुद्दाको विषयमा छलफल सकारात्मक दिशामा अघि बढेको र माओवादीले नेपाली कांग्रेस र जसपासँग फेरि संयुक्त छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए।
जसपाका अध्यक्ष ठाकुरले माओवादी केन्द्रसँगसँगको कुराकानी सकारात्मक भएको जानकारी दिए । उनले छलफल निष्कर्षमा नपुगेको तर फेरि छलफल गर्ने गरी निस्किएको बताए । अर्का अध्यक्ष यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिए । उनले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताए ।
उनले आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भएको जानकारी दिए । यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाले शुक्रबार कांग्रेससँग छलफल गरेको थियो ।