काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लाज नमानी सत्तामा बसिरहनु विकृतिको पराकाष्ठा भएको बताएका छन् ।
प्रेस युनियनले शनिबार बिहान बागलुङमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर ओलीलाई सत्ताबाट हटाउनुपर्ने बताएका हुन् । उनले ओलीलाई हटाउन पार्टी सभापति शेरबहादुर देउवालाई अग्रसरता लिन आग्रह गरेका छन् ।
उनले भने, ‘सत्ता टिकाइ राख्ने जुन खेलहरु भइरहेका छन् यो विकृतिबाट देशलाई मुक्ति गराउने आफूहरुको अभियान हो । पहिलो एजेण्डा नै ओलीलाई हटाउने हो । हामीले सभापतिलाई हिजो भन्यौं तपाइँ आफैं बनेर हुन्छ कि के गरी हुन्छ केपी ओली हट्नुपर्छ । त्यसका लागि प्रयास गर्नुपर्यो । हिजो हामीले यही निर्णय गर्यौं । जनता समाजवादी पार्टीसँग पनि छलफल गर्यौं । दयाँबायाँ सोच्ने अवस्था छैन । कांग्रेस जसपा र माओवादी मिलेर केपीलाई हटाउनुपर्छ । म नेपाली हुँ भन्ने कसैले पनि केपी ओलीलाई जोगाउने कुरामा लाग्नु हुँदैन । यदि जो लाग्छ उनीहरुको निष्ठामाथि प्रश्न उठ्छ ।’
उनले कांग्रेसले सत्ताको आकांक्षा नराखेको तर परिस्थितिले जिम्मेवारीबाट भाग्न नहुने अवस्था सिर्जना भइसकेको बताए ।

प्रतिक्रिया