धनगढी । पार्टी इन्चार्जको विषयलाई लिएर कैलालीमा नेकपा एमालेका दुई समूहबीच झडप भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ताबीच झडप भएको हो ।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।
बुधवार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । ११ बजे नेकपा एमालेको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुगेका थिए । तर, त्यहाँ उपस्थित प्रहरीले नेता थापालाई पार्टी कार्यालय भित्र छिर्न दिएन ।
प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दासम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । नेपाल समूहका कार्यकर्ताहरुले ब्यानर राखेका थिए । थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेमप्लेट थियो । त्यही समयमा दुवै जनाको नेमप्लेट निकालियो । ती दुई स्थानमा कर्ण थापाको र लेखराज भट्टको नाम राखिएको थियो ।
त्यस लगत्तै नेपाल समूहका कार्यकर्ताहरुले लेखराज भट्टको नेमप्लेट हटाएका थिए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरे । भीम रावल जिन्दाबाद भन्दै नाराबाजी गरिरहेको अवस्थामा केपी ओली जिन्दावाद भन्दै ओली समूहका युवाहरूले नाराबाजी गरेका थिए । विवाद बढेपछि झडपको स्थिति भएको थियो । झडप पछि एमालेका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा त्यस अघि लगाइएको एमालेको ब्यानर लगाएर नयाँ ब्यानर लगाइएको थियो । ओली समूहका कार्यकर्ताहरुले भीम रावलको नेमप्लेट समेत तोडफोड गरेका थिए ।

प्रतिक्रिया