प्रधानमन्त्रीद्वारा सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास



सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको बताएका छन् । बिहीबार सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदी तटमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको कुरामा ढुक्क हुन जनतासँग आग्रह गरे ।

“यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ सुविधा पुग्नेछ, मधेशका फाँट हराभरा हुनेछन्”, उनले भने, “आयोजनाले ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ ।” आयोजनाको सफलतासँगै सिन्धुलीसहित मधेशका जिल्लामा किसान नयाँ युगमा प्रवेश गर्ने प्रधानमन्त्रीको भनाइ छ । सरकार दत्तचित्तसाथ समृद्धि अभियानमा लागेको हुँदा अब जनताका दुःखका दिन चाँडै सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

“देशले विकासको गति लिई सक्यो, तपाईंहरु ढुक्क हुनुहोस् ।”, प्रधानमन्त्री ओलीले जनतालाई आवश्त बनाउँदै भने “अब मुलुक पछाडि फर्कदैन ।” यो आयोजनासँगै सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम थालिने र त्यसले एकलाख ७० हजार बिघा जमीनमा सिँचाइ सुविधा पुर्याउने प्रधानमन्त्रीको भनाइ थियो ।

“अब प्रदेश–२ हराभरा बगैँचा बन्नेछ”, प्रधानमन्त्रीले भने, “मलाई मधेश विरोधी भन्नेहरु यी आयोजनाको सफलताबाट नाजवाफ हुनेछन् ।” यो आयोजना नहरमात्र नभएर विद्युत् उत्पादन र सिञ्चाई सुविधाले जमीन मुनीको पानीको सतहमाथि ल्याउने भएको हुँदा बहुद्देश्यीय भनिएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोजनाले हिमाली नदीको पानीलाई पहाडी नदीसँग जोडेर मधेश झार्ने भएकोले तीनै भूगोलका जनतालाई जोड्ने ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कोविड–१९ विरुद्धको लडाइँ नेपालीले जित्दै गएका उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारले पूर्वपश्चिम हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको बताए । मुलुक अब आधुनिकतातर्फ प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबको तिहारमा नेपाली विद्युतीय बसमा चढेर यात्रा गर्ने बताए ।

समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सुनकोशी–मरिन डाइभर्सन आयोजना मुलुकको आर्थिक क्रान्तिको महत्वपूर्ण हिस्सा बन्ने उल्लेख गरे । त्यसैगरी समारोहमा शहरी विकासमन्त्री प्रभु साहले प्रदेश–२ को विकासमा सुनकोशी मरिन र सुनकोशी–कमला डाइभर्सन आयोजना महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरे ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरिएको आयोजना समयमै सम्पन्न गर्न सङ्घीय सरकार र सम्वद्ध पक्षसँग आग्रह गरे ।

समारोहमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले कार्य सम्पन्न भएपछिका दिनमा आयोजनाबाट वार्षिक १० अर्ब आर्जन हुने बताए । नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको र आर्थिक वर्ष २०८२÷८३ सम्म आयोजना निर्माण गरिसक्ने समय सीमा तय गरिएको महानिर्देशक राजभण्डारीको भनाइ छ ।

आयोजनाको शिलान्याससँगै प्रदेश–२ का आम किसानमा आफ्ना दिन फिर्ने नयाँ आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट

दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

उदयपुरमा आमा छोराको हत्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको