प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई शुक्रबार नागरिकतासहित पार्टी कार्यालयमा उपस्थित हुन आग्रह
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनिएको हो ।
पार्टीको आधिकारिता विवाद टुंग्याउन निर्वाचन आयोगले ढिला गरेपछि प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरुले शुक्रबार नागरिकता बोकेर निर्वाचन आयोग जाने तयारी गरेका छन् । बहुमत सदस्य आफूहरुसँग हुँदाहुँदै पनि आयोगले निर्णय दिन आनाकानी गरेको भन्दै दाहाल नेपाल समूहका केन्द्रीय सदस्य आयोग जाने तयारी गरेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग जाने तयारी भएको बताए । यसअघि आयोगले माघ १२ मा नेकपाका दुवै समूहलाई आधिकारिता दिन नसकिने निर्णय सुनाएको थियो ।
त्यसपछि प्रचण्ड–नेपाल समूह दल विभाजन सम्बन्धी निवेदन लिएर माघ २० मा आयोग पुगेको थियो । तर, आयोगले नेकपा विवादलाई थाती राखेर निर्वाचन तयारी थालेपछि प्रचण्ड नेपाल समूह पुनः आयोग जाने तयारी थालेको हो ।
पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ थियो । यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दाबी गर्दै २८७ जनाको नाम बुझाएको छ । आयोगले नेकपा र सूर्य चिन्ह फ्रिज गर्न थालेको समाचार प्रकाशमा आएकै बेला प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आयोग जाने तयारी गरेको हो ।