प्रहरी भागरथी हत्याका अपराधीको नजिकः गृहमन्त्री


काठमाडौं । महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएशन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथी हत्या घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताइन् ।

भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोशिस गर्नुभएको अध्यक्ष बस्यालले बताइन् ।

महिला कानून व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।

बालबालिका तथा महिलाहरुमाथि भैरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानूनी कारबाही भित्र ल्याउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएको समेत महिला कानून व्यवसायीहरुले बताएका छन् ।