संसद विघटन मुद्दामा आजदेखि एमीकस क्युरीको बहस
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी (एमीकस क्युरी) को बहस सुरु हुँदैछ । पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्यूरीले बहस गर्न लागेका हुन् ।
सर्वोच्चको आदेशअनुसार नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले पाँच जना एमिकस क्युरी सिफारिस गरेको थियो। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक छन्।
उनीहरुले रिट निवेदनका विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्नेगरी स्वतन्त्र विचार दिनेछन् । एमीकस क्युरीको बहस सकिएपछि अदालतले निर्णय दिनेछ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।