भैरहवा । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले निर्वाचन आयोगले निर्वाचनको तयारी नगरको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
रुपन्देहीमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले घोषणा गरेको चुनावमा आयोगले चासो नदिएको आरोप लगाए ।
उनले आयोगका गतिविधीका कारण निर्वाचन हुने नहुने शंका गर्नुपर्ने अवस्था आएको बताए । देउवाले भने, ‘निर्वाचन आयोगले किन चुनाव गर्छु भन्दैन । आयोगमाथि शंका गर्नुपर्ने भएको छ । किन तालिका सार्वजनिक गर्दैन । चुनावको कार्यक्रम किन दिन सकेको छैन ? अदालतको निर्णय चुनाव नगराउने भन्ने आयो भने बन्द गरे भइहाल्यो ।’
उनले अदालतले भन्दा निर्वाचन आयोगले बदमासी गर्न सक्ने खतरा देखिएको भन्दै नगर्ने भए आयोगलाई स्पष्ट पार्न आग्रह गरे । नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए ।
नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु नपर्ने उनको भनाइ थियो । उनले नेता कार्यकर्तालाई जनताको घर घर गएर जनताको सेवा गर्न आग्रह गरे । जनता नै देशका मालिक भएकाले जतालाई खुसी पारेर मन जित्न आग्रह गरे ।
सभापति देउवाले नेपाली कांग्रेसले अदालतको निर्णय सदैव मान्दै आएको र अब पनि अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने,‘अदालतले चुनाव गराउँ भन्छ भने पनि ठीक छ। चुनाव भयो भने त्यो भन्दा ठूलो अदालतमा जाउँला । अदालतमा विचाराधिन मुद्दामा हामीले यस्तो गर उस्तो गर भन्न मिल्दैन।’

प्रतिक्रिया