प्रधानन्यायाधीश जबराको प्रश्नः यो सरकार नेकपाको कि ओलीको ?


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वर्तमान सरकार केपी शर्मा ओलीको कि नेपाल कम्युनिस्ट पार्टीको भन्दै प्रश्न गरेका छन् ।

आइतबार संवैधानिक इजलासमा अधिवक्ता दिनमणि पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले यो सरकार केपी ओलीको हो कि नेकपाको भनी प्रश्न गरेका हुन् ।

जवाफमा अधिवक्ता पोख्रेलले सरकार नेकपाको भएको बताएका थिए । प्रधानन्यायाधीश जबराको प्रश्न थियो, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६.१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो ? बहुमत प्राप्त दल भएको अवस्थामा संविधानले बाँकी बुँदालाई लोप गर्छ। यो संविधानसँग कसरी मिल्छ? बाँकी सम्भावना कहाँ छ?’

संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनले बताए । आइतबारबाट संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलको जवाफी बहस सुरु भएको हो । यसअघि निवेदकका बिपक्षी अर्थात विघटन पक्षले बहस गरेका थिए ।