काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ को शनिबार काठमाडौंमा विमोचन गर्दै मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे ।
प्रचण्डले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिले अगाडि बढ्ने मार्ग अझै स्पष्ट नभएका कारण मुलुकमा राष्ट्रिय आत्मविश्वासको सङ्कट देखापरेको बताए ।उनले भने, “संविधानसभामा कुन शासन प्रणाली र व्यवस्थामा किन जाने भनी लामो छलफल र सम्झौताबाट जारी भएको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोज्दा जनताको मतमा विश्वासमा घात भएको छ, यसले राजनीतिप्रति जनतामा वितृष्णा पैदा भयो ।”
पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताए ।
उनले भने, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्तमान र भविष्यमा बनाउन सक्दैन ।”
जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले शासन व्यवस्था परिवर्तनका लागि भएको माओवादी जनयुद्धलाई वन र बन्दुक मात्र होइन, वैचारिक, सिद्धान्त, दर्शन र घोषणाका दृष्टिले विशिष्ट रहेकाले सोही ढङ्गबाट बुझ्न र हेर्न आवश्यक रहेको तर्क गरे ।
पुस्तकमा भूमिगत जीवनका केही अनुभूतिदेखि गणेशमानजीको लोटा र घडा, नागरिक आन्दोलनकारी मित्रलाई पत्र, जनयुद्धका ज्यूँदा शहीदको अमरकथा, अमेरिका : पाताल न स्वर्गलगायत शीर्षकमा विषयवस्तु समेटिएका छन् ।

प्रतिक्रिया