आगामी एक कार्यकाल ओलीलाईनै प्रधानमन्त्री बनाउनुपर्छः महासचिव पौडेल


बुटवल । नेकपाको केपी ओली समूहका महासचिव विष्णु पौडेलले बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् ।

शनिबार बुटवलमा ओली समूहको लुम्बिनी प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले बैशाख १७ र २७ गते निर्वाचन हुने बताएका हुन् । उनले प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्नेगरी चुनावी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भएपनि षडयन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको उनले बताए ।

महासचिव पौडेलले ओली नेतृत्वको नेकपामा जनमत रहेको भन्दै पार्टी आधिकारिकताको लागि यो भन्दा ठूलो वैधानिकता अरु केही नुहुने बताए । उनले आफ्नो हातमा रहेको सूर्य चिन्हलाई आत्मविश्वासका साथ फहराउन कार्यकर्तालाई आव्हान गरे ।
महासचिव पौडेलले नेकपा विभाजन नभएको पनि जिकिर गरे ।