स्रष्टाहरुद्वारा संसद विघटनको विरोधमा हातमा साङ्लो बाँधेर प्रदर्शन


काठमाडौं । स्रष्टाहरुले संसद विघटनको विरोधमा शुक्रबार काठमाडौमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थिएटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् ।

स्रष्टाहरुले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । उनीहरु मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङ्लो बाँधेर प्रदर्शन उत्रिएका हुन् ।

वसन्तपुरमा पुगेर उनीहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए । उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अंहम्को चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकजुट हुन आग्रह गरे ।