काठमाडौँ । प्रहरीले प्रचण्ड -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीलेसोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो ।
पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।
पक्राउको विरोधमा प्रचण्ड नेपाल समूह निकट विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरेका थिए । झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।
लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी थिइन् ।

प्रतिक्रिया