झाँक्रीलाई पक्राउ गर्न प्रहरी गएपछि निवास बाहिर तनाव


काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पक्राउ र्न पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी छन् । शंखमुलस्थित निवासमा पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले आफूलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी हुन् ।

उनले यो राजनीतिक मुद्दा भएको र आफूहरु सडकबाट प्रतिगमनको प्रतिवाद गरिरहेको बताइन् । झाँक्रीलाई प्रहरी पक्राउ गर्न आएपछि ठूलो संख्यामा नेकपाका कार्यकर्ता निवास बाहिर नाराबाजी गरिरहेका छन् ।

त्यसक्रममा प्रहरी र नेकपाका कार्यकर्ताबीच झडप समेत भएको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । उनी नगएपछि निवासबाटै उनलाई पक्राउ गर्न खोजिएको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपाको ओली समूह निकटको अनेमसंघले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो ।