काठमाडौँ । सर्वोच्च अदालतले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले सोमबार रिट दर्ता गरेका थिए । रिटमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।
सर्वोच्चबाट यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

प्रतिक्रिया