संवैधानिक निकायका पदाधिकारीले लिए सपथ
काठमाडौं । संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक अंगका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार बिहान आयोजित कार्यक्रममा उनीहरूले सपथ लिएका हुन् ।
संवैधानिक अंगकाका प्रमुखलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाएका थिए। । सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
समारोहमा सभामुख अग्नी सापकोटा, विपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित भएनन् । संवैधानिक निकायमा आफू अनुकूल व्यक्ति सिफारिस गर्न प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको गणपूरक संख्या नै परिवर्तन गरी अध्यादेश ल्याएका थिए।
संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश आएको थियो। सोही अध्यादेशअनुसार बसेको परिषद् बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ विना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।