सोमबार हुने प्रदर्शनमा व्यापक सहभागिताका लागि कांग्रेसको अपील


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गरी कांग्रेसले सोमबार हुने प्रदर्शनमा सहभागी हुन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।’

सोमबार नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।