जनतालाई नधम्क्याउन प्रधानमन्त्री ओलीलाई नेता रावलको चेतावनी
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावादी कदमलाई जनताले परास्त गर्ने बताएका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता रावलले आफैंले हस्ताक्षर गरेको संविधान कुल्चेर ओलीले कीर्ते काम गरेको आरोप लगाए । उनले आफू ओलीसँग केन्द्रीय कारागारमा सँगै जेल बसेको प्रसंग सुनाउँदै भने, ‘निरंकुशताको विरुद्धको आन्दोलनमा २३ वर्षको केपी ओली जेलमा हुँदा म पनि १९ वर्षको केटो विद्यार्थीको नेतृत्व गर्दै जेलमा थिएँ । अहिले त्यतिबेलाको १९ वर्षको केटो भीम रावलले ओलीको कर्तुतका विरुद्धमा सुदूरपश्चिम जुरुक्क उठाएको छ । बालुवाटारमा बसेको केपी ओली भन्ने केटोले सुन्नुहोस् । निरंकुशता ढल्छ।’
उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारको संरक्षक भएको आरोप लगाए । वाइडबडी, यति ओम्नी, बालुवाटार काण्डको मतियार प्रधानमन्त्री ओलीनै भएको आरोप लगाए । पटक पटक बैठकबाट भागेर जनतासामु पार्टी नेताले काम गर्न दिएनन् भन्न उहाँलाई लाज लाग्नुपर्ने बताए ।
उनले असंवैधानिक कदम चाल्ने ओलीलाई दण्ड दिने बताए । उनले ओली र उहाँका पिछलग्गुहरुले पार्टी र चुनाव चिन्ह आफ्नो पार्न सेटिङ गरिरहेको भने पनि त्यसलाई जनताको बलले भत्काइदिने बताए । उनले निरंकुशताको विरोधमा सडकमा उत्रिएका जनतालाई हेप्ने काम नगर्न चेतावनी दिए ।